जलवायुजन्य विपद्का कारण नेपालले ८ वर्षमा साढे १८ करोड डलर बराबरको नोक्सानी भोग्यो : विज्ञ

काठमाण्डौ । जलवायु विज्ञहरूले जलवायुजन्य विपद्का कारण नेपालले गएको ८ वर्षमा साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताउनुभएको छ । बेलैमा विपद्को पूर्वतयारी नगर्दा आठ वर्षमा साढे १८ करोड डलर बराबरको क्षति गरेको विज्ञहरूले बताउनुभएको छ ।

काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा विज्ञहरूले यो बर्खामा पनि जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने बताउनुभएको छ । कार्यक्रममा जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठूलो असर पुग्ने बताउनुभयो । उहाँले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताउनुभयो ।

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्रोत, पारिस्थितिकीय प्रणाली, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा असर बढी भएको उल्लेख गर्नुभयो । उहाँले बाढीका कारण बसाइँसराइको समस्यासमेत बढेको बताउनुभयो ।

यसैबीच प्रतिनिधि सभाका सांसदहरूले बर्खामा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् । सांसद रघुजी पन्तले बाढी, पहिरो र डुबानबाट बर्खामा चार लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने एउटा अध्ययनको अनुमान पेश गर्दै तत्काल त्यसबाट जनजीवनमा क्षति नपुग्ने गरी पूर्वतयारी गर्न सरकारलाई सुझाव दिनुभयो ।