
टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ।
खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।
यस्तै, दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हरायो । श्रीलङ्काले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका क्विन्टन डीककले २०, हेनरीक क्लासेन अविजित १९ तथा ट्रिस्टन स्टब्सले १३ र कप्तान एडन मारक्रमले १२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का १९ ओभर १ बलमा ७७ रनमा अलआउट भयो । उसका कुशल मेण्डिसले सर्वाधिक १९ रन बनाए । दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले समान दुई/दुई विकेट लिए ।