नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कडेँल बिजयी

काठमाण्डौ ।  नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनु भएको छ । हिजो सम्पन्न निर्वाचनमा कडेँल दुई मतले मात्रै बिजयी हुनु भएको हो ।

निर्वाचन समितिका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएको घोषणा गरिएको छ ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी रिजाल भने ४७७ मत मात्रै प्राप्त गरेर अध्यक्ष हुनवाट बञ्चित हुनु परेको छ ।
पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याउनु भएको थियो ।

उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँसँगै दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याउनु भएको थियो ।

महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँसँगै बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याउनु भएको थियो ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनु भएको छ । उहाँले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गर्नु भएको हो ।

हिजो भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

 

विजयी उम्मेदवारहरुलाई आज बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिनु भएको छ ।