![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-30-075029.png)
तराईमा गर्मीले जनजीवन कष्टकर, अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि
काठमाण्डौ । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । नेपालगञ्जसहित तराई, मधेशका धेरै ठाउँमा बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । गर्मी बढेसँगै तराई मधेशका धेरै पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ ।