प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको समुद्‌घाटन पूर्वराष्ट्रपति भण्डारीबाट हुने

काठमाडौं । नेपालमा आयोजना हुन लागेको प्रथम अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पूर्व राष्ट्रपति एवम् नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने भएको छ । सम्मेलनबारे जानकारी दिन जेठ १६ गते  ललितपुरको पाटन म्युजियममा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

मातृभाषामा पत्रकारिता शुरू भएको एक सय वर्ष पुरा भएको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले सम्मेलनको आयोजना गर्न लागेको हो । नेवाः पत्रकार राष्ट्रिय दबू देशभरीका नेवाः पत्रकारहरूको छाता संगठन हो ।

आजभन्दा एक सय वर्ष अगाडि अर्थात नेपाल संवत् १०४५ र विक्रम संवत १९८२ मा पत्रकार धर्मादित्य धर्माचार्यले नेपाल भाषामा ‘बुद्ध धर्म र नेपाल भाषा’ नामको पत्रिका प्रकाशन गरेर पहिलो पटक मातृभाषाको पत्रकारिता शुरू गर्नुभएको बताइन्छ । उहाँबाट शुरूवात भएको मातृभाषाको पत्रकारिताले  १०० वर्ष पुरा भएको अवसरमा यही जेठ १९ र २० गते अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने आयोजकहरूले बताउनु भयो  ।

उक्त सम्मेलनमा भागलिन सार्क क्षेत्रका मुलुकहरू भारत, बंगलादेश, श्रीलङ्का र भुटानबाट करिब सय भन्दा बढी मातृभाषी पत्रकारहरू काठमाडौं आउने भएका छन्  ।

जेठ १९ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजना हुने उद्‌घाटन समारोहमा नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठका अनुसार दोश्रो दिन अर्थात जेठ २० गते उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा भक्तपुरको ठिमीमा सम्मेलनको समापन समारोह आयोजना हुनेछ ।

बुधाबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका बरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले २०८१ को वर्षलाई ‘मातृभाषा पत्रकारिता शताब्दी वर्ष’ का रूपमा मनाउने जानकारी दिनुभयो । महर्जनले नेपालका आदिवासी, जनजाति, मधेशी पत्रकारहरूको यस किसिमको पहलबाट नेपालमा बोलिने मातृभाषाको संरक्षण र विकासका लागि राज्यलाई थप दबाब पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न भाषाविद् र पत्रकारहरूबाट कार्यपत्र प्रस्तुति र समूहगत छलफल लगायत  ऐतिहासिक सम्पदा क्षेत्रको भ्रमण अवलोकन जस्ता गितिबिधिहरू हुने उक्त २ दिने सम्मेलनमा मातृ भाषाको संरक्षणमा योगदान पुर्‌याउने पत्रकार लगायत विभिन्न अभियानकर्मीलाई आयोजक दबूले सम्मानित समेत गर्ने भएको छ ।

सम्मेलन  आयोजनामा सहयोग गरिरहेको संस्था सार्क जर्नलिष्ट फोरमका अध्यक्ष राजु लामाका अनुसार भर्चुअल माध्यमबाट २० भन्दा बढी मुलुकका पत्रकार, भाषाविज्ञहरू सम्मेलनमा जोडिने बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालमा पहिलो पटक आयोजना हुन लागेको मातृभाषा पत्रकारिता सम्मेलन सबैका लागि खुसीको उत्सव हुने धारणा राख्नुभयो ।

दबु अध्यक्ष श्रेष्ठले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राष्ट्रिय विभुति घोषणा, उहाँको नाममा हुलाक टिकट प्रकाशित गर्न र वहाँको नाममा मातृभाषा पत्रकार प्रतिष्ठान स्थापना गर्न समेत दबूले सरकार समक्ष माग गर्दै आएको बताउनु भयो ।

विक्रम संवत् १९०२ मा ललिपुरमा जन्मिनु भएका धर्मादित्य धर्माचार्य वास्तविक नाम जगतमान वैद्य हो । मातृभाषामा पत्रकारिताको जग राख्ने व्यक्तिका रूपमा मात्रै नभई धर्मादित्यलाई  नेपाल संवत्‌लाई राष्ट्रिय  पात्रोको मान्यता दिलाउने अभियानका एक मुख्य पात्रको रूपमा समेत स्मरण गर्ने गरिन्छ ।

उहाँको ६३ वर्षको उमेरमा विक्रम संवत १९६३ मा निधन भएको हो ।