मुख्यमन्त्री उद्धव थापा विरुद्धको रिट उपर विपक्षीका तर्फबाट बहस हुँदै

काठमाण्डौ ।  कोशी प्रदेश सरकार विरुद्ध परेको रिट उपर आज रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाइ हुदै छ ।

हिजो सोमबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुरु भएको कोशी प्रदेश सरकार र मुख्यमन्त्री उद्धव थापा विरुद्ध परेको रिट उपर आज (मंगलबार) पनि सुनुवाइ हुँदैछ ।

हिजो रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको छ ।

आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाइ हुनेछ । रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेशसभा सचिवालयसहित विश्वासको मत लिने दिन प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी र गीता तिम्सिनालाई विपक्षी बनाइएको छ ।

विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको सूची रहेको छ । कोशी प्रदेशका मुख्यन्यायाधीवक्ता बुद्धिबहादुर कट्टुवालका अनुसार समय सीमा छुट्याएर बहसको समय तोकिएको बताए ।

विपक्षीका तर्फबाट सरकारी वकिलहरूको अलावा वरिष्ठ हरिहर दाहाल, प्रेम बहादुर खड्का सुनिल पोख्रेल, विजय मिश्रा, गोविन्द बन्दी, शेरबहादुर केसी, मुक्ति प्रधान यदु खनाल, रमण श्रेष्ठ, खम्ब खाती, लगायतका कानुन व्यवसायीहरूले बहस गर्ने कट्टुवालले बताए ।
मुख्यमन्त्री थापा विरुद्धको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदी रहेको पूर्ण इजलासमा परेको छ ।

सोमबार रिट निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, डा.सुरेन्द्र भण्डारी, बाबुराम दाहाल, उषा मल्ल पाठक र अधिवक्ता शान्तिराम खतिवडाले बहस गरेका हुन् ।