लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि मतदान सुरू
काठमाण्डौ । शनिबारदेखि बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरू भएको हो । पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।
सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ ।
अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । ५ जना अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिष्पर्धा छ ।
कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् । जारी एमाले प्रदेश अधिवेशनमा हिजो गर्ने भनिएको मतदान आज (मंगलबार) बिहानलाई सारिएको थियो ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई सहमतिबाटै नेतृत्व टुंग्याउन निर्देशन दिएपनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ ।