कोशी प्रदेश सरकारविरुद्धको मुद्दा सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा

काठमाण्डौ । कोशी सरकार गठनविरुद्धको मुद्दा आजदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ सुरु भएको छ । आज सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुंग्याउने गरी आदेश दिएका थिए ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रवार सुनुवाइ तोकिएकामा न्यायाधीश खतिवडाले उक्त रिटमा आफैँले कारण देखाऊ आदेश दिएका कारण पूर्ण सुनुवाइमा बस्न नमिल्ने बताएपछि आइतबार ‘हेर्न नमिल्ने’ मा राखिएको थियो ।
भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको ठहर गरेको छ ।

सर्वोच्चले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशले मुख्यमन्त्री थापा नेतृत्वको सरकार कामचलाउ अवस्थामा छ ।