राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार बनायो
पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जमा रहेको कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
धान रोप्ने सानो मेशिन, घाँस खुर्किने, ड्याङ बनाउने मेशिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेशिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेशिन तयार पारेको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले जानकारी दिनुभयो । औजार तथा उपकरणको मूल्य भने निर्धारण भइसकेको छैन ।
केन्द्रमा कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मत गरेर सञ्चालन गर्न सकिने जनाएको छ । अहिले केन्द्रमा १५ जना कार्यरत छन् ।
सरकारले २०७९ सालको असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।