![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-25-214142.png)
सामाजिक अनुसन्धान विषयमा मदन भण्डारी मेमोरियल कलेजद्वारा आयोजित ३ दिने तालिम सम्पन्न
काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘सामाजिक अनुसन्धान’ विषयमा आयोजित ३ दिने तालिम’ शनिवार सम्पन्न भएको छ । कलेजका विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजना गरिएको हो ।
कलेजका प्रमुख तथा अनुसन्धान व्यवस्थापन इकाई प्रमुख डाक्टर बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तर्गतका विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्धेश्यकासाथ तालिम आयोजना गरिएको बताउनु भयो ।
शनिवार तालिमको समापन गर्नुहुँदै डाक्टर अधिकारीले कलेजको उद्देश्य पुरा भएकोमा खुसी व्यक्त गर्दै विश्वविद्यालय अनुदान आयोग, श्रोत व्यक्ति, कलेजका अध्यापक, कर्मचारी सबैलाई धन्यवाद दिनुभयो ।
वैशाख १० गते सुरु भएको उक्त तालिमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष एवम् प्राध्यापक डाक्टर देवराज अधिकारीले गर्नुभएको थियो । उक्त अवसरमा उहाँले विश्व विद्यालय अन्तर्गतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासको लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताउनु भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिम पश्चात् मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोत व्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका पाण्डेले अध्ययन अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रक्रिया भएको धारणा राख्नु भयो ।
तालिममा प्राध्यापक डाक्टरहरू प्रेमसागर चापागाइँ, योगेन्द्र गुरुङ, ध्रुव कार्की, ताराप्रसाद भुसाल र विनोद पोखरेल त्यसै गरी, डाक्टर भीमलाल गौतम र डाक्टर अञ्जय मिश्रले सहजिकरण गर्नुभएको थियो ।
मदन भण्डारी मेमोरियल कलेजले वार्षिक रूपमा विभिन्न विधामा आधारित अध्ययन सामग्रीहरूको जर्नल ‘श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको छ ।