एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै खेल दिउँसो सवा ३ बजे सुरु हुने
काठमाण्डौ । जारी एसिया कप क्रिकेटमा नेपालर भारत भिड्न लाग्दै छन् ।
नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग खेल्न लाग्दै छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।
आज (सोमबार) हुने खेल श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा दिउँसो सवा ३ बजे हुनेछ । नेपाल रोहित पौडेलको कप्तानिमा र भारत रोहित शर्माको कप्तानीमा खेल्न लाग्दै छन् ।
आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ ।
नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो ।
जारी खेलको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।
समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ ।
यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलङ्काबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।