![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-23-145417.png)
१५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता शनिबारदेखि हुने
काठमाण्डौ । नेपाल सोतोकान कराते सङ्घको आयोजनामा १५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पर्सि शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बङ्ग्लादेश, पाकिस्तान, श्रीलङ्का र भुटान गरी ६ देशको सहभागीता रहने आयोजक सङ्घका महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । यो प्रतियोगिताअघि राखेप कभर्डहलमै आज र भोलि प्रथम बाग्मती प्रदेश खुला कराँते प्रतियोगिता हुनेछ । महासचिव शेर्पाकाअनुसार प्रतियोगिता सञ्चालन गर्दा झण्डै ३२ लाख रुपैयाँ खर्च हुनेछ ।