मुस्ताङको जोमसोमदेखि कागबेनी जोड्ने सडक कालोपत्र गर्न शुरु

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ साल असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिनुभयो । १८ महिनाको ठेक्का अवधि रहेकोमा ठेकेदारलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि कम्पनीले गएको भदौदेखि काम थालेको थियो ।