विदेशी शक्तिहरूसँग मिलेर देशमा अस्थिरता निम्त्याउन सत्तारुढ दलले मोर्चाबन्दी बनाए : प्रदीप ज्ञवाली
काठमाण्डौ । विदेशी शक्तिहरूसँग मिलेर देशमा अस्थिरता निम्त्याउन सत्तारुढ दलहरूले मिलेर मोर्चाबन्दी गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाउनु भएको छ ।
आज (शनिबार)देखि बुटवलमा शुरु भएको पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाउनु भएको होे ।
नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको समेत बताउनु भएको छ ।
देशको प्रधानमन्त्री, मन्त्री र सरकारमा रहेका दलका नेताहरूले सामाजिक सद्भाव खलबलिने गरी दिएका अभिव्यक्तिले देशलाई थप अस्थिरतामा लगेको नेता ज्ञवालीको भनाई थियो ।
सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने उहाँले बताउनु भएको छ ।