![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-18-201310.png)
सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो
काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।
शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।
नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको जानकारी दिनुभयो। उहाँले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने बताउनुभयो।
प्रमुख सचेतक लेखककाअनुसार टिओआर भने कार्यदलले आइतबार बनाउने छ। समिति बन्ने भएसँगै आइतबारको संसद सहज रुपमा अघि बढ्ने उहाँको भनाइ छ।