प्रधानमन्त्री प्रचण्डले आज बेलुका ६ बजे कांग्रेस नेतासँग छलफल गर्दै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउनुभएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । यसमा सहमति जुट्न नसक्दा सङ्घीय संसद् प्रभावित हुँदै आएको छ ।

यसैबीच सहकारी प्रकरणलाई लिएर संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसको पहलमा आज बसेको विपक्षी दलका शीर्ष नेताहरूको बैठकले छानबिन समिति बनाउन माग गर्ने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै संसदीय छानबिन समितिको माग गर्दै आएको थियो । यही मागमा अब अरू विपक्षी दलले पनि कांग्रेसलाई साथ दिने भएका छन् । आजको छलफलमा कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

यस्तै सभामुख देवराज घिमिरेसँग भएको विपक्षी दलका नेताहरूको बैठकमा उनीहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । हिजो बसेको संसद् बैठकमा सत्तारूढ र विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।