अर्घाखाँचीको सुपा देउरालीमा नयाँ प्रविधि प्रयोग गरेर सडक विस्तार हुँदै

काठमाण्डौ । अर्घाखाँचीको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तारको काम भइरहेको छ । कडा चट्टान पाइएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो विस्तारको कार्य भइरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।

जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण गोरुसिङ्गे–सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म झन्डै दुई सय मिटर कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा समस्या भएपछि सडक विस्तारको काम शुरु भएको हो ।

साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ ।