![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-16-121151.png)
संसद् बैठक शुरु हुन ढिलाइ, प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै
काठमाण्डौ । बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले बैठक बस्न ढिलो भएको हो ।
प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भन्नुभएको र आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभएको सभामुखको सचिवालयले जनाएको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
यस्तै सभामुखले कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ । छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी हुनुहुन्थ्यो ।
सत्तापक्ष र प्रतिपक्ष दलका आ–आफ्नै अडानका कारण संसद्को गतिरोध अन्त्य हुन सकेको छैन । सत्तारूढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् ।
प्रमुख प्रतिपक्ष कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको पुष्टि भएकाले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्कटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव गरे पनि यसमा एमाले र रास्वपाको असहमति छ ।