मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छः अध्यक्ष ओली

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताउनुभएको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भन्नुभयो ।

उहाँले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताउनुभयो । ‘आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ रु उसले बोलेको हामीले मात्रै सुन्नपर्ने रु यस्तो संसदीय अभ्यास हुँदैन’,अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । संसदीय दलका नेता ओलीले भन्नुभयो, ‘मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौं, संसद् अविलम्ब सुचारू हुनुपछ । कांग्रेसले पनि अब संयमता अपनाउनुपर्छ ।
परिस्थितिको आँकलन गरी सबै राजनीतिक दललाई आफूहरुले मिलाएर लैजाने प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो,“सदनमा भोलि हामी बहस गर्न तयार भएर जाऔँ, हामीले त्यहाँ बहस गर्न पाउनुपर्छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले संसदमा उठाउनुपर्ने र नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तुबारे सांसदलाई प्रशिक्षण दिइरहनुभएको छ ।