सरकारको आम्दानी भन्दा खर्च बढी, सरकारी वित्त घाटा झन् फराकिलो

काठमाण्डौ । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च भएको महालेखा नियन्त्रक कार्यालय खुलाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी हुदा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च रहेको छ । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको छ । जससबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको र जसमध्ये पनि कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपियाँ आम्दानी देखिएको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ८५ अर्ब १० करोड रुपियाँ आम्दानी भएको छ ।

कार्यालयका अनुसार यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपियाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्षÞमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको महालेखा नियन्त्रक कार्यालयले बताएको छ ।