घरेलु मैदानमा दिल्लीको जित, प्लेअफ पुग्ने सम्भावना न्यून

एजेन्सी । इंडियन प्रिमियर लिग (आईपिएल) लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्सले जित हासिल गरेको छ ।

२ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र जोड्न सक्यो । लखनऊका निकोलस पुरनले २७ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रन बनाए थिए ।

ब्याटर अर्षद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडेका थिए ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १ विकेट लिएका थिए ।

दिल्लीका खेलाडी अभिषेक पोरेलले ३३ बलमा सर्वाधिक ५८ रन र स्टब्सले २५ बलमा ५७ रन बनाएका थिए । साई होपले ३८ र ऋषभ पन्तले ३३ रन जोडेका थिए ।

लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले समान १–१ विकेट हासिल गरे ।
दिल्लीले १४ खेलमा १४ अंक र लखनऊले १२ अंक बटुलेको छ । यो जित सँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएको छ भने लखनऊको एक खेल बाँकी रहेको छ ।

दिल्लीको प्लेअफ पुग्ने सम्भावना न्यून रहेको छ । लखनऊको भने प्लेअफमा पुग्नका लागि अन्तिम खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्ने र अन्य खेलको नतिजामा भर पर्नु पर्ने अवस्था छ ।