आयरल्यान्ड पुरुष क्रिकेट टिमले पाकिस्तानमा पहिलो पटक क्रिकेट खेल्ने
काठमाण्डौ । आयरल्यान्ड पुरुष क्रिकेट टिमले इतिहासमा पहिलो पटक आउँदो वर्षको अगस्ट र सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ ।
पाकिस्तान भ्रमणबारे क्रिकट आयरल्यान्डले आधिकारिक पुष्टि गरेको क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोले जनाएको छ । भ्रमणका क्रममा आयरल्यान्ड र पाकिस्तानले तीन वटा टी–२० क्रिकेट र तीन वटा एकदिवसीय क्रिकेटको शृङ्खला खेल्नेछन् । यो शृङ्खलाको भ्रमण तालिका र खेल हुने ठाउँहरूको बारेमा पनि पूर्ण जानकारी नआइसकेको खबरमा उल्लेख छ ।
आयरल्यान्डको महिला क्रिकेट टिमले सन् २०२२ को नोभेम्बरमा पाकिस्तान भ्रमण गरेको थियो । यो भ्रमणमा दुई टोलीबीच तीन वटा टी–२० क्रिकेट र तीन वटा एकदिवसीय क्रिकेट भएको थियो जसमा टी–२० शृङ्खला आयरल्यान्ड र एकदिवसीय शृङ्खला पाकिस्तानले जितेको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नम्भीले क्रिकेट आयरल्यान्डका अध्यक्ष ब्रेन म्याकनिससँग भेट गरेपछि भ्रमणबारे तय भएको खबरमा उल्लेख छ ।