पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित
काठमाण्डौ । एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ ।
हिजो (बुधबार) पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । नेपालले यही खेलमार्फत एसिया कपमा डेब्यू गरेको हो । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानसँग खेलेको हो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।
यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । अब नेपालले अर्को खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ । प्रतियोगिता भदौ ३१ गतेसम्म चल्नेछ ।