तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता
काठमाण्डौ । तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग ठेक्का सम्झौता भएको छ ।
९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी–५ निर्माणका लागि तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिलतर्फका कामका लागि ठेक्का सम्झौता भएको हो ।
तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले आयोजनाको पूर्वतयारीका सबैजसो काम सकिएकाले एक महिनाभित्र काम शुरु हुने जानकारी दिनुभयो । आयोजना निर्माण थालेको चार वर्षमा व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको छ ।
यो आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड आयोजना भएका कारण हेडवर्क्स बनाउनु पर्दैन । माथिल्लो तामाकोशीको टेलरेस टनेलबाट निस्कने पानीलाई सिधै तामाकोशी–५ को सुरुङमार्गमा ल्याइनेछ । आयोजनाका लागि ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ ।
आयोजनामा नेपाल विद्युत् प्राधिकरण, तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषले लगानी गर्दैछन् । सञ्चय कोषले मात्रै १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । आयोजना निर्माणका लागि कुल २१ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान छ ।