पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन : केपी ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताउनुभएको छ ।
‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।’ उहाँले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पार्नुभयो ।
उहाँले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गर्नुभयो ।