प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकमा जातीय हिंसा भड्काएको एमालको आरोप

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको अभिव्यक्ति संविधानविपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीको भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उहाँले सो अभिव्यक्तिप्रति निन्दा र भत्र्सना समेत गर्नुभयो ।

प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैलाउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न रहेको आरोप समेत लगाउनुभयो । उहाँले सरकारले सुशासन कायम गर्ने भने पनि त्यसअनुसारको काम गर्न नसकेको जिकिर समेत गर्नुभयो ।