गण्डकी सरकारविरुद्ध कांग्रेस फेरि रिट लिएर सर्वोच्चमा
काठमाडौं । गण्डकी प्रदेश सरकारकाविरुद्ध नेपाली कांग्रेस फेरि सर्वोच्च अदालत गएको छ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणा बदरको माग गर्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार रिट दायर गरेका हुन्।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ३१ प्रदेशसभा सदस्यको मत आवश्यक पर्छ। तर गत वैशाख २३ गते प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले आफूबाहेक ५९ सदस्यीय प्रदेशसभा कायम रहने र ३० ले बहुमत पुग्ने भन्दै अधिकारी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए।
रिटमा सभामुखको उक्त घोषणा उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ। साथै संविधानको धारा १६८ ९३० बमोजिम आफूलाई मुख्यमन्त्रीमा नियुक्ति दिलाउन अन्तरिम आदेशको माग पाण्डेले रिटमा गरेका छन्।
यसअघि पनि सभामुखको हस्ताक्षर प्रयोग गरी अधिकारीले सरकारमा दाबी गरिएको भन्दै पाण्डे सर्वोच्च गएका थिए। तर सर्वोच्चले विश्वासको मतबाटै मुख्यमन्त्री अधिकारीको बहुमत परीक्षण हुने आदेश गरेको थियो।