![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-07-134925.png)
ट्राफिक नियम पालना गर्न झन्झट नमानौँ , मुख्यमन्त्री अधिकारी
काठमान्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ।
मङ्गलवार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षित हुने भन्दै यस्तो बताउनु भएको हो।
‘एउटा सामान्य नियम पालना गर्दा मात्रै पनि हामी सबैको जीवन सुरक्षित हुनसक्छ। सामान्य छ‚ यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’, उहाले भन्नुभयो ‘शरीरमा रोग लाग्न नदिन आहारविहारमा ध्यान दिए जस्तै गरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रूपमा लिनुपर्छ।’
दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही हुने तथ्याङ्कले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा ७७.२७ प्रतिशत दुर्घटना सवारीचालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। यसैगरी यात्रुका कारण ८.८२ प्रतिशत, यात्रीका कारण ६.६८ प्रतिशत र सडकका कारण ६.९५ प्रतिशत दुर्घटना भएका छन्।
‘यहाँ दिएको डेटाअनुसार दुर्घटनाका प्रतिशतमा मानवीय लापरबाही नै प्रदान देखियो। नियम उल्लङ्घनका कुराले धेरै क्षति भइरहेको हुन्छ। नियम र पद्धतिमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’, मुख्यमन्त्री अधिकारीले थप्नुभयो, ‘विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रूपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेको खण्डमा सभ्य समाज निर्माणमा सहजता हुन्छ।’
आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायतका सम्बन्धमा कक्षा आठ र नौका विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन शुरु गरेको भन्दै उहाँले त्यसलाई अब पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। जागरणका कार्यक्रमले सभ्य समाज निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ।
ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने भन्दै मुख्यमन्त्री अधिकारीले सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकै नमुना ठाउँ बन्ने विश्वास व्यक्त गर्नुभयो।
गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३२२ वटा सवारी दुर्घटना हुँदा १५५ जनाले ज्यान गुमाएका ट्राफिक प्रहरीको तथ्यांक छ। ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ। शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृह हलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो।