इस्लामावाद उच्च अदालतले निलम्बन गरिदियो इमरान खानको जेल सजाय
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय एक उच्च अदालतले निलम्बन गरिदिएको छ ।
द डन समाचार पत्रका अनुसार इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बन हुने फैसला गरेको हो ।
मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो ।
पाकिस्तानको निर्वाचन आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै ट्रायल कोर्टले इमरानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त आदेशसँगै इमरान जेल गएका थिए भने पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका थिए ।
उक्त आदेशविरूद्ध इमरानले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पाकिस्तानमा केही महिनामै आमनिर्वाचन हुँदैछ ।