सातवटै प्रदेशका सभापतिसहित गर्ने भनिएको कांग्रेस भेला स्थगित

काठमाण्डौ । नेपाली कांग्रेसको प्रदेश सभापतिको भेला स्थगित भएको छ ।

कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको हो ।

आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्नेगरी कांग्रेसले भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जनाएको छ ।

गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको, पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।