संसदीय समितिको नेतृत्व गर्न लेनदेनमा सहमति नभएको अध्यक्ष लिङदेनको दाबी

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ ।

साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि आज (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति नभएको दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताउनुभएको हो  । उहाँले राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र सुरुको गठबन्धन ताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको बताउनु भयो । उहाँले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत खुलाशा गर्नुभएको छ ।

अहिले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङदेनको धारणा छ । उहाँले यो हुनुमा दिल्लीमा बनेको १२ बुँदे सहमति त्यसले देखाएको मार्गचित्र र अहिले पनि खासगरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रिायकलापमा सरकारी उदासिनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष लिङदेनले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नको लागि हिन्दु, बुद्ध, किराँत लगायत सबै धर्मलाई समान सम्मानसहितको हिन्दुराष्ट्र देशको आवश्यकता भएको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्छ भन्नेकुरा अहिलेको घटनाक्रमले झनै बलियो बनाएको बताउनुभएको छ ।