एनपीएल सञ्चालनमा त्रिवि प्राध्यापक संघको ११ बुँदे सुझाव
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनका क्रममा त्रिभुवन विश्वविद्यालय परिसरको व्यवस्थापन, सुरक्षा र शैक्षिक गतिविधिमा असर पर्न नदिन त्रिवि प्राध्यापक संघले ११ बुँदे सुझाव दिएको छ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पस एकाइ कीर्तिपुरले विश्वविद्यालय क्याम्पसको प्रिन्सिपल कार्यालयबाट कात्तिक ५ गते जारी सूचना तथा एनपीएल प्रतियोगिता सञ्चालनका क्रममा विश्वविद्यालय परिसरको व्यवस्थापनसम्बन्धी विषयमा ध्यानाकर्षण गराएको हो।
संघले राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा क्रिकेटको योगदानलाई सकारात्मक रूपमा लिँदै प्रतियोगिताको सफलताको कामना गरेको छ। तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र दर्शकको उपस्थितिमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्नेमा जोड दिएको छ।
संघले सुरक्षा जाँचका क्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई परिचयपत्र साथमा राख्नुपर्ने व्यवस्था स्वाभाविक भए पनि विश्वविद्यालय समुदायको आत्मसम्मान, सम्मानजनक व्यवहार र सहज आवागमन सुनिश्चित गर्नुपर्ने बताएको छ।
त्यस्तै, विश्वविद्यालयको ऐतिहासिक, शैक्षिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै यसलाई उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गरेको छ। प्रतियोगिताका कारण नियमित पठनपाठन, परीक्षा, पुस्तकालय सेवा, अनुसन्धान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यमा अवरोध आउन नदिन संघले आग्रह गरेको छ।
विश्वविद्यालय प्रशासन, नेपाल क्रिकेट संघ (क्यान), सुरक्षा निकाय तथा विश्वविद्यालय समुदायका प्रतिनिधिबीच तत्काल समन्वय गरी स्पष्ट व्यवस्थापन योजना कार्यान्वयन गर्नुपर्ने संघको सुझाव छ। दर्शकको लामो दूरीको आवागमन तथा भीड व्यवस्थापन, मुख्य प्रवेशद्वार र नियमित आवागमन मार्गमा भीड तथा अवरोध हुन नदिने व्यवस्था मिलाउन पनि भनिएको छ।
संघले प्रतियोगिताको तालिका, दैनिक सञ्चालन समय र समय अवधिको निर्धारण गर्दा विश्वविद्यालयको शैक्षिक कार्यतालिकालाई प्राथमिकता दिनुपर्ने जनाएको छ। ध्वनि, सवारीसाधन, पार्किङ र दर्शकको भीड व्यवस्थित गरी कक्षाकोठा, पुस्तकालय, अनुसन्धानस्थल तथा छात्रावासको शान्त वातावरण कायम राख्नुपर्नेमा जोड दिएको छ।
छात्रावासमा बस्ने विद्यार्थीको गोपनीयता, सुरक्षा, सहज आवागमन र आवासीय सुविधाको संरक्षणलाई अनिवार्य सर्त बनाउनुपर्ने संघको माग छ। खेलमैदानको प्रयोगमा विश्वविद्यालयको स्वामित्व र प्रभावकारी प्रशासनिक नियन्त्रण सुनिश्चित गर्दै मैदान प्रयोगसम्बन्धी निर्णय तथा सम्झौतामा पारदर्शिता कायम गर्नुपर्ने पनि सुझाव दिइएको छ।
त्यसैगरी, विश्वविद्यालय क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुटमा खेल हेर्ने सुविधा उपलब्ध गराउन संघले माग गरेको छ।
तत्कालका व्यवस्थापकीय समस्या समाधान गर्दै भविष्यमा यस्ता प्रतियोगिता सञ्चालनका लागि मापदण्ड र कार्यविधि तयार गर्नुपर्ने, विश्वविद्यालय समुदायसँग संस्थागत छलफल गरी विस्तृत र व्यवस्थित सञ्चालन नियमावली बनाउनुपर्ने संघको सुझाव छ।


