शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता पालना गर्न निर्देशन
काठमाण्डौ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनले जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
एकाइले सोमबार जारी गरेको सूचनामा शिक्षक तथा कर्मचारीले पदअनुकूल आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै विभिन्न माध्यमबाट गुनासो आउने गरेको उल्लेख छ।
शिक्षा नियमावली, २०५९ को नियम १३३ मा रहेको शिक्षकले पालन गर्नुपर्ने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै एकाइले नियमको उपनियम (१) को खण्ड (घ) अनुसार नेपाल सरकार र नेपाली जनताबीचको सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी लेख प्रकाशित गर्न, प्रेसलाई खबर दिन, सञ्चारमाध्यमबाट भाषण प्रसारण गर्न वा सार्वजनिक भाषण तथा वक्तव्य दिन नहुने व्यवस्था रहेको जनाएको छ।
त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा जारी निर्देशिका, २०८० को दफा ४ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्यबारे स्पष्ट व्यवस्था रहेको सूचनामा उल्लेख छ।
एकाइले जिल्लाका सबै शिक्षक तथा कर्मचारीलाई उक्त कानुनी व्यवस्थाको पूर्ण पालना गर्न र गराउन अनुरोध गरेको छ। साथै, शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको विषयमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम नियमन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।


