पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा आगामी दिनमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। बुधबार देशभर साधारणतया बदली रहने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
बिहीबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

