आज पनि देशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाण्डौ ।  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा गएराति पानी परेको छ । पछिल्लो तीन घण्टामा जाजरकोटमा सबैभन्दा धेरै ४० मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै कास्कीको लुम्लेमा झण्डै २८ मिलिमिटर पानी परेको छ । अरु केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह छ ।