कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा ठूलो पानी पर्ने
काठमाण्डौ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पानी परेको छ । आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

