खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानवअधिकार आयोगको निर्देशन

काठमाण्डौ ।  राष्ट्रिय मानवअधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्तिमार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृतिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

काठमाण्डौ उपत्यकासहित देशभर ग्यासको अभाव छ । आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपुछ गरी अभावबारे जानकारी लिएको जनाएको छ । दैनिक ज्याला मजदुरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निक्कै समस्यामा परेको आयोगको भनाइ छ ।