मदनभण्डारी मेमोरियल कलेजमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सम्पन्न, साइबर अपराधबारे विशेष प्रशिक्षण

काठमाडौँ  ‘समुदाय प्रहरी साझेदारी: शान्तिपूर्ण एवम् सुरक्षित समुदायका लागि’ भन्ने मूल नाराका साथ आज मदन भण्डारी मेमोरियल कलेजमा एक महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी र मदनभण्डारी मेमोरियल कलेज (१०+२ विभाग)को सहकार्यमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य समाजमा शान्ति सुरक्षा कायम गर्न र समुदायमा प्रहरीको पहुँच बढाउनु रहेको थियो।

कार्यक्रमको एक विशेष सत्रमा, कलेजका विद्यार्थीहरूका लागि साइबर अपराधसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। बढ्दो डिजिटल प्रविधिसँगै साइबर अपराधका घटनाहरू पनि बढिरहेको सन्दर्भमा विद्यार्थीहरूलाई यससम्बन्धी सचेतना जगाउनु र सुरक्षित रहने उपायहरू सिकाउनु यस प्रशिक्षणको लक्ष्य थियो।

उक्त साइबर अपराधसम्बन्धी विशेष प्रशिक्षणको सहजीकरण प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले गर्नुभएको थियो। प्रहरी नायब निरीक्षक शेर्पा केवल एक अनुसन्धान अधिकृत मात्र नभई विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने नेपाल प्रहरीकी साहसी अधिकृत पनि हुनुहुन्छ। उहाँले “महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गरौँ, सबै एकजुट बनौँ” भन्ने अत्यन्त सान्दर्भिक र महत्वपूर्ण सन्देशसहित सगरमाथा आरोहण गर्नुभएको थियो।

विद्यार्थीहरूले प्रहरी नायब निरीक्षक शेर्पाबाट साइबर अपराधका विभिन्न रूपहरू, त्यसबाट बच्ने उपायहरू र कानुनी प्रावधानहरूबारे महत्त्वपूर्ण जानकारी प्राप्त गरे। 

 कार्यक्रमले विद्यार्थीहरूमा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न र प्रहरी तथा समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।