रोशी खोलामा बाढी, बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध

काठमाण्डौ । काभ्रेको रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन बन्द भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सडक खण्डमा तत्कालका लागि सबै प्रकारका गाडी आवागमन रोकेको जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो ३ बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोशी खोलाको जलस्तर बढेको छ । प्रहरीले काठमाण्डौतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका गाडीलाई काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकेको छ ।

आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो ३ घण्टामा कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ ।

यसैबीच देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज राति र भोलि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका १/२ ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।

यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका १/२ ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।