विश्वकप लिग–२ खेल्न नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले आइतबार खेलाडीको बिदाइ गगर्नुभयो । सिरिजका नेपाल आयोजक नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

यस सिरिजका लागि क्यानले यसअघि नै रोहितकुमार पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ । १५ सदस्यीय मुख्य टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ ।

टोलीमा लेग स्पिन सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडी यथावत् हुनुहुन्छ ।

यसैगरी टोलीमा इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीले स्थान बनाउन सफल हुनुभएको छ ।

मुख्य टोलीका अतिरिक्त पाँच जना खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहनुभएको छ ।