मदन भण्डारी कलेजमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई बिदाइ

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) को अवसरमा एक विशेष कार्यक्रम आयोजना गरी स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई बिदाइ गरेको छ।

कलेजमा आज आयोजित कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरूलाई बिदाइ गरिएको हो। कलेजले हरेक वर्ष अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि नियमित रूपमा बिदाइ कार्यक्रम आयोजना गर्दै आएको छ।

कार्यक्रममा बिदाइका अतिरिक्त विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ। कलेजद्वारा आयोजित विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरूमा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीहरूलाई बिदाइ भन्दा पनि उनीहरूको उज्ज्वल भविष्यको कामना गर्ने दिनको रूपमा लिएको बताउनु भयो । क्याम्पस प्रमुख अधिकारीले विद्यार्थीहरूसँगको आपसी सम्बन्ध र उनीहरूको रचनात्मक सुझावहरूलाई कलेजले सधैँ सम्मान गर्दै आएको बताउनु भयो ।

साथै उहाँले आगामी मङ्सिर ५ गते कलेजले एउटा विशाल ‘ग्र्याजुएसन सेरेमनी’ (दीक्षान्त समारोह) आयोजना गर्ने घोषणा गर्नुभएको छ । बिदाइ समारोहमा क्याम्पस प्रशासनका पदाधिकारीहरू, विभागीय प्रमुखहरू, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।