औद्योगिक क्षेत्रमा लगानी पौने १८ खर्ब रुपैयाँ नाघ्यो

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जामध्ये ७२ प्रतिशतभन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ साल पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । कुल बैंक कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३० दशमलव ८२ प्रतिशत रहेको छ । बागमतीमा ७२ प्रतिशतभन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा ०.२५ प्रतिशतमात्र औद्योगिक कर्जा पुगेको छ ।

प्रदेशगत रूपमा हेर्दा कोशीमा ९.२२, लुम्बिनीमा ७.९१, मधेशमा ७.२२, गण्डकीमा १.६२ र सुदूरपश्चिममा १.५५ प्रतिशत कर्जा प्रवाह भएको छ ।

औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगले सबैभन्दा धेरै ३५.६७ प्रतिशत हिस्सा ओगटेको छ । विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ र कृषि तथा पेय पदार्थ उद्योगमा २०.६४ प्रतिशत कर्जा गएको छ ।

राष्ट्र बैंकको सर्वेक्षणअनुसार उद्योगको औसत क्षमता उपयोग ४२ प्रतिशतमा मात्र सीमित छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर ४६१ नयाँ उद्योग दर्ता भएका छन् जसबाट २२ हजार जनाभन्दा धेरैलाई रोजगारी सिर्जना हुने अनुमान छ ।

– न्यूज एजेन्सी नेपाल