मदन भण्डारी उच्च माध्यमिक विद्यालयद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण, असार ४ गतेदेखि नियमित पठनपाठन हुने
सुप्रिया राई, जेठ ३१, काठमाण्डौ । मदन भण्डारी मेमोरियल उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आज आइतबार आयोजित कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीको शैक्षिक प्रगति र सफलताका लागि अभिभावक, विद्यार्थी र संस्थाबीच निरन्तर संवाद, सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधि र विद्यालयको वातावरणबारे नियमित निगरानी तथा सकारात्मक सुझाव दिन आग्रह गर्नुभयो ।

विद्यार्थीहरू कक्षामा नियमित, अनुशासित र लगनशील भएर दैनिक नयाँ कुरा सिक्ने सोचका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । गुणस्तरीय उच्च शिक्षाको खोजीमा मदन भण्डारी उच्च माध्यमिक विद्यालयलाई रोजेकोमा उहाँले विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्घाटन समरोहमा मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक कमल न्यौपानेले विद्यार्थीलाई मेहनती र सकारात्मक सोचका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीको आध्यात्मिक, भावनात्मक तथा समग्र व्यक्तित्व विकासका लागि सकारात्मक सिकाइ वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले डिजिटल लतबाट टाढा रहँदै पाठ्यपुस्तक र पुस्तकालयको सदुपयोग गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । साथै, नियमित अध्ययनसँगै नयाँ सीप सिकाइमा आफ्नो समय लगानी गर्न पनि आग्रह गर्नुभयो । उहाँका अनुसार कक्षा ११ का नियमित पठनपाठन आगामी असार ४ गते बिहीबारदेखि सञ्चालन हुनेछन् ।

त्यस्तै, विद्यार्थी आचारसंहिता तथा विद्यालयका नियम–निर्देशनबारे जानकारी दिँदै प्राध्यापक भीम सिग्देलले विद्यार्थीलाई जिम्मेवार, विवेकशील र अनुशासित बन्न आग्रह गर्नुभयो ।

जिज्ञासु स्वभाव र अनुशासनले विद्यार्थीलाई अझ सफल बनाउने उल्लेख गर्दै उहाँले सहपाठी, दिदीदाइ तथा शिक्षकसँग सुमधुर सम्बन्ध कायम राख्न सुझाव दिनुभयो । यसले विद्यार्थीको नैतिक चरित्र निर्माणमा सहयोग पुर्याउने उहाँको भनाइ थियो ।

प्लस टु संयोजक निरुजा फुयालले यस विद्यालयका विद्यार्थीहरूले इन्जिनियरिङ, चिकित्सा, कानुन, आमसञ्चार, कला, मनोरञ्जन तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हाँसिल गर्दै विद्यालयको गौरव बढाएको बताउनुभयो ।

उहाँले विद्यार्थीको क्षमता र प्रतिभाअनुसार अवसर उपलब्ध गराउन विद्यालय प्रतिवद्ध रहेको उल्लेख गर्दै योग्य तथा प्रतिभाशाली विद्यार्थीलाई आफ्नो सीप प्रदर्शन गर्ने उचित मञ्च प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए ।

