प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित छ: परराष्ट्रमन्त्री खनाल

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार उपयोग) सँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी विवाद रहेको बताउनुभयो । उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत नक्साङ्कनको काम गरिरहेको समेत जानकारी दिनुभयो । सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ थियो ।

सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसद्‍मा व्यक्त गर्नुभएको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भसँग सम्बन्धित रहेको उहाँले दोहोऱ्याउनुभयो । आ–आफ्नो उपभोगमा रहेको दाबी दुवै पक्षले गर्ने गरेको उल्लेख गर्दै उहाँले सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा राख्नुभएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थसँग जोडिएको स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको शान्तिपूर्ण निरूपण नै भएको बताउनुभयो । नेपाल–भारत सीमा द्विपक्षीय विषय भएकाले दुई देशबीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत गर्न नेपाल प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।