हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ  ।  देशका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो हिमाली भू–भागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बिहानपख काठमाडौं उपत्यका र विभिन्न खोँचका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।