बौद्धिक परिषद्द्वारा ‘मदन भण्डारी : ओझेल परेको विशिष्ट व्यक्तित्व’ कृति विमोचन
काठमाडौँ । नेपाल बौद्धिक परिषद् केन्द्रीय समितिले वरिष्ठ लेखक प्रा.डा. बद्रीविशाल पोखरेलद्वारा लिखित तथा सम्पादित ‘मदन भण्डारी : ओझेल परेको विशिष्ट व्यक्तित्व’ नामक कृति विमोचन गरेको छ ।
काठमाडौँस्थित मदन भण्डारी फाउण्डेशनको सभाकक्षमा मङ्सिर ४ गते आयोजित समारोहमा प्रमुख अतिथि तथा नेकपा एमालेका वरिष्ठ नेता एवं संस्कृतिविद् प्रदीप ज्ञवालीले कृतिको लोकार्पण गर्नुभएको हो ।
सो अवसरमा नेता ज्ञवालीले जननेता मदन भण्डारीका विषयमा थप गहन अध्ययन गर्न उक्त कृति उपयोगी, पठनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो । यद्यपि, भण्डारीको व्यक्तित्व ओझेलमा परेको भन्ने कृतिको शीर्षकप्रति उहाँले असहमति जनाउनुभयो ।
कृतिमाथि वरिष्ठ स्रष्टा विधान आचार्यले समीक्षा गर्नुभएको थियो । अन्तर्क्रियात्मक कार्यक्रममा कृतिका लेखक डा. पोखरेल र प्रमुख अतिथि ज्ञवालीबीच कृतिमा उठाइएका विषयमा वैचारिक बहससमेत भएको मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशकी सदस्य मिथिला पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार डा. पोखरेलले मदन भण्डारीले पटक–पटक जोड दिनुभएको सांस्कृतिक रूपान्तरणको पक्ष एमालेमा कमजोर रहेको र उहाँको विशिष्ट व्यक्तित्वलाई नबुझ्ने तथा नचिन्ने नेता ९९ प्रतिशत रहेको धारणा राख्नुभएको थियो । त्यसको जवाफमा नेता ज्ञवालीले आंशिक सत्यलाई पूर्ण सत्यका रूपमा प्रस्तुत गर्न नमिल्ने बताउनुभएको थियो ।
कृतिकार डा. पोखरेलले नेकपा एमालेमा अहिले देखिएका विभिन्न विकृति मदन भण्डारीको विचार र भावनाअनुसार पार्टी नेतृत्व अघि बढ्न नसक्नुको परिणाम भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीमा नोकरशाही जनवाद चरम सीमामा पुगेको भन्दै यही अवस्था कायम रहे पार्टी नै ‘पाटी’ मा परिणत हुने टिप्पणी गर्नुभयो ।
नेपाल बौद्धिक परिषद्का अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का बुद्धिजीवी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य जे.एन. थपलिया, नेकपा मसालका नेता भैरवराज रेग्मी, एमाले नेता डा. विजय सुब्बा, प्रा.डा. उपेन्द्रकुमार कोइराला, प्रा.डा. विदुर चालिसे, प्रा.डा. नन्दीश अधिकारी, डा. विनोद मञ्जन, मदन भण्डारी फाउण्डेशनका सचिव डा. भेषराज अधिकारी, पूर्वराजदूतद्वय रमेशचन्द्र पौडेल र उदयराज पाण्डे, राधा अधिकारी तथा परिषद्का महासचिव डा. दीपेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

