मदन भण्डारी कलेजमा शैक्षिक अनुसन्धानमा एआईको प्रयोग विषयक कार्यशाला सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा नवप्रवर्तन तथा शैक्षिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
आज आइतबार कलेजमा ‘हार्नेसिंग आर्टिफिसियल इन्टेलिजेन्स फर साइन्टिफिक एन्ड एकेडेमिक रिसर्च’ विषयक शैक्षिक कार्यशाला आयोजना गरिएको थियो । वैज्ञानिक तथा शैक्षिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी विषयमा छलफल गरिएको हो ।


विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोग तथा मदन भण्डारी मेमोरियल कलेजको आयोजनामा सम्पन्न कार्यशालामा अनुसन्धानकर्ता देव राज राईले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा वैज्ञानिक तथा शैक्षिक अनुसन्धानमा एआईको प्रयोगसम्बन्धी विषय समेटिएको थियो । वैज्ञानिक तथा शैक्षिक अनुसन्धानका क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रभावकारी र सार्थक प्रयोगका विषयमा केन्द्रित रही छलफल गरिएको थियो।

कलेज प्रमुख डा.बाबुराम अधिकारीले अनुसन्धानमा आधारित शैक्षिक गतिविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनु भयो ।
उहाँले वर्तमान समयमा ज्ञान र अज्ञान दुवै अवस्थामा एआईको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्नुभयो।

यस्तै, अनुसन्धान व्यवस्थापन समितिका सदस्य सचिव तथा सहप्राध्यापक डा. प्रमोदराज उपाध्यायले एआईको प्रयोगलाई केवल चोरी वा आफूले मात्र काम गरेको देखाउने माध्यम का रूपमा सीमित नराखी अनुसन्धानको गुणस्तर अभिवृद्धि र सिकाइका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यशालामा लघु, घरेलु तथा साना उद्यमको विकास र वैज्ञानिक तथा शैक्षिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी विषयमा छलफल गरिएको हो ।अनुसन्धान र त्यसअन्तर्गतको समूह छलफलका सन्दर्भमा कलेजका शिक्षक तथा कर्मचारीहरूसँग अन्तर्क्रिया गरिएको थियो। उक्त अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता कलेजका सहप्राध्यापक डा. प्रमोदराज उपाध्याय रहनुभएको थियो । अनुसन्धानमा देव राज राई, मनीष घिमिरे र प्रणय श्रेष्ठ सहअनुसन्धानकर्ताका रूपमा संलग्न हुनुहुन्छ ।
आयोजित कार्यशालामा अनुसन्धानकर्ता, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । कलेजले शैक्षिक तथा वैज्ञानिक अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।





