रुसले युक्रेनलाई प्रहार गरेको मिसाइल पोल्यान्डमा खसेपछि युरोपमा सुरक्षा तनाव

काठमाण्डौ – युक्रेनमाथि रुसले गरेको ठूलो आक्रमणका क्रममा प्रहार गरिएका दुईवटा क्रुज मिसाइल र एउटा ड्रोन नेटो सदस्य राष्ट्र पोल्यान्डको भू–भागमा खसेपछि युरोपको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

पोल्यान्डले घटनालाई रुसको जानाजानी गरिएको उक्साहटको संज्ञा दिएको छ भने नेटो महासचिव मार्क रुटले यसलाई हवाई क्षेत्रको गम्भीर उल्लङ्घन बताउनुभएको रोयटर्सले जनाएको छ ।

चीनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच त्रिपक्षीय शिखर वार्ता भएको केही समयमै रुसले युक्रेनका विभिन्न सहरमा व्यापक आक्रमण गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा भएको आक्रमणमा एक बालक र उद्धारकर्मीसहित केहीको ज्यान गएको र दर्जनौँ मानिस घाईते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मध्यपूर्वमा पनि अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले आफ्नो देश कूटनीतिक समाधानकै पक्षमा रहेको बताउनुभएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार नबनाउने सुनिश्चिततासहित स्थायी सम्झौता हुनुपर्ने अडान राख्दै इरानका पछिल्ला सर्त अस्वीकार गर्नुभएको छ ।

कूटनीतिक प्रयास जारी रहेकै बेला बहराइनको एक औद्योगिक केन्द्रलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ । यसले मध्यपूर्वको तनाव थप बढाएको छ ।

विश्वका शक्तिशाली देशका नेताहरूबीच शान्ति र सुरक्षा कायम गर्ने विषयमा संवाद भइरहे पनि युक्रेन र मध्यपूर्वमा जारी सैन्य आक्रमणले अन्तर्राष्ट्रिय सुरक्षा चुनौती थप जटिल बन्दै विश्लेषण भइरहेको छ ।