मलेसिया जाने श्रमिकमाथि ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
काठमाण्डौ । मलेसियन सरकारसँग भएको सम्झौता विपरीत रकम संकलन गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो बुधवार पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखहरु उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ ।
यो रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।
सम्झौता र कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गराउने तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

