रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको भन्दै जापानको कडा विरोध
एजेन्सी । रुसी दुई सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ ।
जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार आज बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।
त्यस लगत्तै जापानको आत्मरक्षा बलले ती सैन्य विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रवक्ता किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताउँदै यस्तो गतिविधि अस्वीकार्य रहेको बताउनुभएको छ । उहाँले कूटनीतिक माध्यमबाट रुससँग कडा विरोध जनाएको र घटना नदोहोर्याउन माग गरिएको जानकारी दिनुभयो ।
जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो ।
गएको अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो ।

